दफा ३३
शर्तहरू राख्ने अधिकार
(१) कोषले कुनै संगठित संस्थासंग कारोबार गर्दा वा कुनै संगठित संस्थालाई कर्जा दिंदा आफनोे हितको संरक्षण र आफूले प्रदान गरेको कर्जा वा सुविधाको उचित प्रयोगका लागि आवश्यकता अनुसार शर्त राखी लिखत गराउन सक्नेछ । (२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि उपदफा (१) बमोजित लिखत गराउँदा कोषले जतिसुकै अवधिको भाखा राख्न, कोषले तोकेको शर्त भङ्ग गरेमा ऋणी संगठित संस्थाले लिइसकेको कर्जाको सांवा व्याज फिर्ता बुझाउन लगाउने वा लिखत गराई लिएको सम्पत्ति र जमानतबाट असूल गर्न सक्ने गरी शर्त तोक्न सक्नेछ । (३) कोषले कुनै संगठित संस्थालाई दिईने कर्जा दिंदा सो संगठित संस्थालाई दिईने कुल कर्जा रकमको एकै पटक लिखत गराई संगठित संस्थाले किस्ता प्राप्त गरेको मिति देखि त्यसको व्याज हिसाब गर्ने गरी तोकिए बमोजिम किस्ताबन्दीमा नगद, चेक वा लेटर अफ कमिटमेन्ट वा लेटर अफ क्रेडिटको रुपमा कर्जा प्रदान गर्दै जाने शर्त राख्न सक्नेछ । (४) उपदफा (१) बमोजिम शर्तहरू तोक्दा कोषले कुनै संगठित संस्थाको सञ्चालक समितिमा सञ्चालक नियुक्त गर्ने शर्त समेत राख्न सक्नेछ र त्यस्तो शर्त रहेकोमा यस ऐन वा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि सोही शर्त बमोजिम हुनेछ ।